Saturday, April 19, 2014

२०७० को अन्त्यतिर जुभूङ्ग पुग्दा

काठमान्डौबाट २०७० को अन्त्यतिर आफ्नो जन्मस्थानमा पुग्दा देखेभेटेका केहि सामाग्रीहरु प्रस्तुत गर्दै छु ।छोटो समयमा धेरै कुराहरु समेट्ने मेरो प्रयास यसपाली पनि सफल हुन सकेन ।जे जति देखियो स्वीकार गर्नुहोस है त !
ooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo
बडीघाट खोलामा निर्माणाधीन हाम्रो गा.वि.स. जुभूङ्ग र मजुवा  जोड्ने  पक्कि पुल निर्माणको काम  लगभग अन्तिम चरणमा पुगेको छ ।यो पुल यसै वर्ष २०७१ मा संचालनमा ल्याउने गरि निर्माण कार्य तिब्र पारिएको छ । श्रोतका अनुसार मजुवा क्षेत्रमा निर्माण भएका अन्य पुल संगै यो पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


 झिर्बास कन्ठे डाँडाको खर्यानमा लागेको आगो । दिउसोको समयमा लागेको आगो स्थानीयको सहयोगमा केहि बेरमै नियन्त्रणमा आएको थियो ।पानीको पाइप जोड्ने क्रममा लागेको आगोले अन्य क्षेती त पुराउन पाएन तर खर्यानमा भएको घास पूर्ण रुपमा जलेर नष्ट पारेको थियो ।


 काब्रेपोखरीको मनोरम सुन्दर बस्ति ।
माइकास्थानमा निर्माण भएका मन्दिरको पनि दर्शन गर्नुहोस है ।

गाउँको माया लाग्छ भने कस्तो लाग्यो कमेन्ट गर्नुहोस है त !

Read more...

Monday, September 16, 2013

गुल्मीमा १७ औं खुल्ला दिशा मुक्त गा.वि.स.जुभूङ्ग

मिति २०७०-०५-२९ गते एक बिशेस कार्यक्रमको आयोजना गरि जुभूङ्ग गाँउ विकास समितिलाइ खुल्ला दिसा मुक्त घोषणा गरिएको छ।श्री सुर्योदय उच्च माध्यामीक विधालयको प्रांगणमा सपन्न गरिएको कार्यक्रममा जिल्लाका विभिन्न प्रसासकिय प्रमुख तथा विभिन्न राजनितिक दलका नेताहरुको उपस्थिति रहेको थियो | साथै स्थानीय बासिन्दाहरुको उल्लासपुर्ण सहभागिता रहेको थियो |

सरकारको आगामी 2017 सम्म नेपाललाई खुल्ला दिशा मुक्त गराउने लक्ष अनुरुप गुल्मी जिल्लाले तोकिएको समय भन्दा दुई वर्ष अगाभै 2015 सम्म गुल्मी जिल्ला लाई खुल्ला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गर्ने तयारि अनुरुप यो कार्यक्रम को आयोजना गरिएको हो |गुल्मी जिल्ला का ७९ गा.वि.स. मध्ये १६ वटा गा.वि.स. पहिलेनै खुल्ला दिशा  मुक्त घोषणा भैसकेका छन् भने हाम्रो जुभूङ्ग गा.वि.स. १७ औं गा.वि.स. भएको छ|जहाँ अर्जै गाविस जिल्लामै पहिलो घोषित गा.वि.स. हो |

 गा.वि.स. सचिव डिल्लीराज पोख्रेलको अध्यक्षता सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, विषेस अतिथि स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवाली,अतिथिहरु गुल्मी उधोग बाणिज्य संघका अध्यक्ष,खाने पानी तथा सरसफाई डिभिजन कार्यालयका जिल्ला प्राविधिक,जिल्ला इन्जिनियर ,पत्रकार महा संघ गुल्मीका उपाध्यक्ष  साथै विभिन्न राजनीतिक दलका नेताहरुले आ-आफ्नो तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो |  कार्यक्रममा विभिन्न  सस्कृति झल्कने झाँकीहरु,भजन ,नेवार समुदायको लाखे नाच,मगर समुदायको मारुनी नाच,विभिन्न विद्यालयका प्रस्तुतीहरु साथै पञ्चैवाजा आदि प्रस्तुत गरिएको थियो | साथै कार्यक्रममा ९० वर्ष पुगेका ११ जना जुभूङ्गबासी  बृद-बृदालाइ सम्मान गरिएको थियो |कार्यक्रम एकदमै हर्स-उल्लासपूर्ण वातावारंमा सम्पन्न भएको थियो |

कायक्रममा उपस्थित सन्तोष गौतमले खिच्नु भएका केहि तस्विरहरु हेरौ |








गाउँको माया लाग्छ भने कस्तो लाग्यो कमेन्ट गर्नुहोस है त !

Read more...

Saturday, August 24, 2013

मेरो गाउ........

जुभुङ्ग  गाउँ  माथि रेसुंगा 
हरियाली छाया,
बिदेसमा बसे पनि लाग्छ आफ्नै
गाउकै माया,
कलकल पानी बग्ने खहरे खोला,
बहादुरको रगतले सिञ्चिएर
होला,
बिहानीको घाम संगै सबै तिर
घमाइलो,
हराभरा बालीनाली चारैतिर
रमाइलो,
प्राकृतिक  साधनले
भरिपुर्ण जुभुङ्ग  मेरो गाउँ ,
कहिँ कतै छैन होला यस्तो
रमाइलो ठाउँ

बुद्ध खड्का
झिर्बास -१ गुल्मी 
हाल-कतार 

कस्तो लाग्यो कमेन्ट गर्नुहोस है त !

Read more...

Monday, June 17, 2013

छिमेकीको कुटाईबाट ३ गम्भिर घाईते

सीता भण्डारी
गुल्मी, २ असार । छिमेकीको कुटाइबाट जुभुङ् २ मा ३ जना गम्भिर घाईते भएका छन । छिमेकीको कुटाईबाट जुभुङ्ग २ का ६३ बर्षिय पार्वतादेवी बलाल, उहाँका छोरा ३६ बर्षका डम्मर बलाल र छिमेकी ५६ बर्षिय मीना घर्ती गम्भिर घाईते भएका हुन ।
स्थानीय कृष्ण बहादुर थापाले आईतबार साझँ ५ बजेतिर कुटो तथा हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये पार्वतादेवी बलाल, उहाँका छोरा ३६ बर्षका डम्मर बलाल को जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि पाल्पा पठाइएको छ भने मीनाको जिल्ला अस्पताल तम्घासमै उपार भैरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने कृष्ण बहादुरलाई प्रहरीले नियन्त्रण लिई छानविन शुरु गरेको जिल्ला पं्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । कुष्ण बहादुरले मादक पर्दाथ सेवन गरेको जानकारी प्राप्त भएपनि घटनाको मुख्य कारण भने खुल्न सकेको छैन ।
गुल्मीन्युज डटकम 

थप जानकारी 

कुटाइमा संलग्न कृष्ण बहादुर थापा झिर्बास तल्ला गाउँ निवासी कृषक हुन् | उनले रागो पालन ,ब्रोइलर कुखुरा पालन साथै खसी-बोका पालनमा गर्दै आएका छन् | साथै उनि सामाजिक कार्यमा पनि संलग्न छन् |
एक  अपुष्ट जानकारी अनुसार पार्वतादेवी बलाल  र कृष्ण बहादुर थापा बीच रागोको बहाल उठाउने विषयमा कुरा नमिल्दा झगडाको रुप हुदै लडाई समेत भएको र  पार्वतादेवी बलाल पक्षले आफ्नो लगाएको गहना लुट्ने प्रयास समेत भएको आरोप कृष्ण बहादुरलाइ लगाएका छन् |घटना पछी कृष्ण बहादुर त्यहाबाट भागेका थिए | पछि स्थानीय बासिन्दाले मजुवा स्थित प्रहरी चौकीमा घटनाको बिस्तृत जानकारी गरेका थिए  र मजुवाबाट खटिएको प्रहरीले  कृष्ण  बहादुरको खोजि गरेको थियो तर कृष्ण बहादुर आफै जिल्ला प्रहरी समक्ष सरणमा पुगेका थिए | र हाल भने प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ |

कस्तो लाग्यो कमेन्ट गर्नुहोस है त !

Read more...

Friday, November 30, 2012

जुभुङ्ग गा.वि.स.को परिचय

जुभुङ्ग गा.वि.स. पश्चिमान्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अंचलको गुल्मी जिल्लाका ७९ गा.वि.स.हरुमध्ये जिल्लाको सदरमुकाम तम्घासबाट पुर्व ३ कोश दुरीमा अवस्थित छ |पूर्वमा रुपाकोट ,हूँगा ,पश्चिममा रेसुंगा ,उत्तरमा बलिथुम,तुराङ्ग र दक्षीणमा गौडाकोट,बिरबास,पल्लीकोट गा.वि.स.हरु सिमानाको रुपमा रहेका छन् |यस गा.वि.स.को सबै वडाहरुमा मोटरबाटो पुगेको छ |साथै बिजुली र मोबाइल फोनको सेवा पनी उपलब्ध छ |हरियाली बन जंगल डल्ली र सिस्ने खोलाहरुसंगै महाभारत पर्वत शृंखलामा प्राकृतिक,भौगोलिक र सास्कृतिक मनोरमताले सिंगारिएको गुल्मी जिल्लाको नजिकको गा.वि.स.हरुमध्ये एक हो |यँहा विभिन्न रैथाने जातजातिका जम्मा ९३४ घरमा महिला २७४८ र पूरुष २८८० गरि जम्मा कुल जनसंख्या ५६२८ (जुभुङ्ग गा.वि.स.को पार्श्वचित्र २०६८ अनुसार)रहेको छ |


निर्वाचन क्षेत्र न.२ र इलाका क्षेत्र न.८ मा पर्ने यस जुभुङ्ग गा.वि.स.को प्रमुख बस्तीहरू देउरालीपोखरा,कोलगैरा,चिलाउनेपोखरी,छहरा,साईसे,काब्रेपोखरी,तल्लागाउँ,डल्लीखोला,हटिया,कोटटोला,टङ्गलाजी,घुर्मी,उर्लाकोट,ठुलाचौर,फोक्सिबास,हुल्टुङ,घोराहा आदि हुन् |कहिँ समथर कहिँ भिरालो भू-भाग भएपनि उर्वरा मलिलो माटोको कारण प्रशस्त अन्न उत्पादन हुन्छ |यँहा मौसम अनुसारको खेति बार्है बहिना गर्न सकिन्छ |यँहाको मुख्य पेशा खेती नै हो |मुख्य बाली धान,गँहु,मकै,कोदो,दालहरुमा बोडी,सिमी,केराउ,मास,मसुरो,तरकारी,विभिन्न फलफुल, तरकारी खेती,सुन्तला खेती,अदुवा खेती र केरा खेती आदि हुन् |आजभोलि व्यावसायीक रुपमा तरकारी खेती,कुखुरापालन आदि गरिदै आएको छ |उत्पादित खाधान्न तथा तरकारी स्थानीय बजार वा तम्घास,पाल्पा,बुटवल आदिमा बेचबिखन गरिन्छ | 

यहाँका अधिकांश मानिसहरुले हिन्दु धर्म मान्ने गर्दछन |ब्राह्मण,क्षेत्री,मगर,नेवार,कामी,दमाई,सार्की आदि यस  गा.वि.स.का मुख्य जातजाति हुन् | यहाँका मुख्य चाडपर्व दशैं,तिहार,तिज,माघे संक्रान्ति,साउने संक्रान्ति,जनै पुर्णिमा आदि हुन् |यस गा.वि.स.मा सीतोष्ण (मधुर किसिमको) हावापानी पाइएता पनी बार्है महिना एकै नासको हावापानी छैन |चैत्र महिना देखि असोजको शुरु सम्म गर्मी हुन्छ |असोज,कार्तिक र फागुनमा समसीतोष्ण हुन्छ भने मंसिर,पौष र माघमा निकै जाडो हुन्छ | जेष्ठको अन्त्य देखि असोजको सुरुसम्म मनसुनी वायूका कारण प्रशस्त वर्षा हुने गर्दछ |

जुभुङ्ग गा.वि.स.को ऐतिहासिक पृष्ठभूमि (नामाकरण)
जुभुङ्ग गा.वि.स.को नाम कसरी रहन गयो भन्ने बारेमा यो शब्द मगर भाषाबाट आएको हो | जु भनेको कटुस र भुङ्ग भनेको बास भनेर बुझिन्छ | यसै शब्दावलीबाट गा.वि.स.को नाम जुभुङ्ग राखिएको हो भन्ने भनाइ रहेको छ | यसै ठाउमा तात्कालिन पंचायतको कार्यालय रहेकोले जुभुङ्ग गाउँ पंचायत हुन् गयो |२०४८ सालपछि जुभुङ्ग गाउँ पंचायतको ठाउँमा जुभुङ्ग गा.वि.स.राखिएको हो |

कस्तो लाग्यो कमेन्ट गर्नुहोस है त !

Read more...

Wednesday, November 28, 2012

जुभुङ्गमा बस गुड्न थाले यसपालिको दशैं बाट २०६९

मिति २०६९/८/१२  १०:३७ बजे राति 
प्रकाश थापा 
करिब ५० दीन अगाडी असोज २३ गते बिहान  काठमाडौँ छोडेर गाउँ जादा जति मनमा खुशी र उमङ्ग थियो त्यो खुशी अनि उमङ्ग अहिले  गाउँबाट काठमाडौँ फर्कदा कता कता हराएको अनुभूति आफैले गरिरहेको छु |आज त काठमाडौँ फर्केको पनी तिन दीन भैसकेछ |जे होस् ढिलै भएपनि गाउँमा आफ्नै आखाले देखेका केहि  गतिबिधिहरुलाई यसरि स्मरण गर्दै छु |

यसपाली दशैंमा घर जाने चटारो अलि चाडै नै गरिएछ के र ! पहिलाका वर्षहरुमा घटस्थापनाको दीन मा घर पुग्ने गरिन्थ्यो | तर यसपाली घटस्थापना भन्दा एक हप्ता पहिले नै घर पुगेको ले होला गाउँघरमा दशैंको माहोल देखिदैनथियो | आएको दशैंलाइ कसले पो रोक्न सक्थ्यो र बिस्तारै घर गोठ लिप्ने चटारो गाउँ भरि एक साथ चल्यो  | साथसाथै मन्दिरमा घन्टा अनि बाजा बज्ने समय पनी आयो  | अष्टमी र नवमीमा मन्दिरमा पुजा गर्ने अनि भाकल चडाउने काम पनी सकियो | जुभुङ्ग गा.वि.स.का सबै मन्दिरहरुमा सदा जस्तै गरि पुजाआजाको काम धुमधामको साथ सम्पन्न भयो |

साथै २०६९/०७/०७ नममी को दीन जुभुङ्ग गा.वि.स.मा पहिलो पटक बस पुग्यो |यसले जुभुङ्ग  बासीहरुमा थप हर्स र उल्लास थपिदिएको थियो | लु.१.ख.७६६४ नम्बरको बस पहिलो पटक जुभुङ्ग  मा पुग्दा जुभुङ्ग  बासीहरुले बस ड्राईभरलाई  अबिर अनि फुलमालाले स्वागत गरेका थिए |हिन्दु हरुको महान पर्व बडा दशैं २०६९  को अवसर पारेर संचालन गरिएको बस सेवा हालका दीनहरुमा नियमित सुचारु भैरहेको छ | अहिले दैनिक  हटियाबाट  बिहान ८:३० बजे बुटवलको लागि अनि १०:५५ बजे बुटवलबाट जुभुङ्ग को लागि बस सेवा चलिरहेको छ |यस संगै हामि जुभुङ्ग  बासीमाझ थप यातायात को सुबिधा बढेको छ | अझ अर्को कुरा जुभुङ्ग  मजुवा जोड्ने पक्कि पुलको निर्माण कार्य पनी चलिरहेको छ |

अब कुरा गरौ बिजया दशमी २०६९ को ,यस दीन हरेक हींदु नेपालीहरुले जस्तै जुभुङ्ग  बासीहरुले पनी आफ्नो घरमा ठुलाबडाको हातबाट टिका जमरा लगाएर, मिठो-मिठो खाएर मनाए अनि साँझ पख सम्म आफन्तजनहरुको हातबाट टिका जमरा लिन जानेहरुको ओहोरदोहोर बाटोमा बाक्लै थियो |

यसै गरि पुर्णिमाको अघिल्लो दीन राति, कालरात्रिको अवसरमा  झिर्बासको माईकास्थान मन्दिरमा काब्रेपोखरी स्टार क्लबको आयोजनामा कालिका नाच अनि पुर्णिमाको दीन  सराय नाच सम्पन्न गर्दै महान पर्व बिजया दशमी बिदा भयो |

दशैं र तिहार बिचको समय सामान्य तरिकाले बित्यो |विभिन्न वडाहरुमा प्राथमिक उपचार केन्द्र    निर्माण हुदै थियो |

 तिहारमा भैलो खेल्ने समुहहरूले छुट्टै रमाइलो माहोल बनाएका थिए | टङ्गलाजी र घुर्मी का समुदाय मिलेर स्कुल संचालनको निम्ति आर्थिक संकलन गर्ने उदेश्यले खेलिएको भैलोको छुटै रौनक थियो |यसै गरि तिहारको दीन दिदि बहिनिको हातबाट टिका लगाउदै  तिहारको रमझम पनी सकियो |

कस्तो लाग्यो कमेन्ट गर्नुहोस है त !


Read more...

Sunday, September 9, 2012

वस दूर्घटनामा मृत्यु हुने सवैको सनाखत, रिडीमा सामुहिक दाह संस्कार


जनार्दन घिमिरे
गुल्मी, २४ भदौ । गुल्मीको सदरमुकाम तम्घासवाट काठमाण्डौंको लागि छुटेको लु १ ख ५५८३ नम्वरको यात्रुवाहक वस आज विहान गुल्मीकै हर्दिनेटा गाविस ६ मा दूर्घटना हुँदा १३ जनाको मृत्यू भएको छ भने अन्य थप २९ जना भन्दा वढी घाईते भएका छन् । विहान सदरमुकाम तमघासवाट ५ वजे २४ जना यात्रुहरु लिएर हिडेको उक्त डाँक वस सदरमुकाम तम्घासवाट करिव ७ कोष टाढा हर्दिनेटा गाविसको लुम्छा नजिकै सेल गैरा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ११ जना यात्रुको घटना स्थलमै र थप २ जनाको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दूर्घटनामापरि मृत्यु हुनेहरुमा गुल्मी अर्खले गाविस ६ निवासी टेमलाल पाण्डे, गुल्मी विरवास ८ का टेक बहादुर सोमरे, दरवारदेविस्थान ३ निवासी हरिकला अर्याल, तम्घास गाविस १ निवासी बिस्नु प्रसाद पन्थी, गुल्मी पिपलधाराकि लक्ष्मी खनाल, जैसिथोककि लक्ष्मी खड्का, तम्घास ३ कि छमकला कुवर, निरज कुवर, गुल्मी दुविाचौर ९ का श्री थापा, गुल्मी अर्खले गाविस ७ निवासी राजन गौतम अर्खले ७, अर्घाखाची भगवती २ का लालकुमार श्रेष्ठ, अर्घाखाँची मरेङ्ग ५ का ङण बहादुर क्षत्री र अर्घाखाँची वाङ्गला निवासी चन्दा भुुसाल रहेका छन् । “वस तिव्र गतिमा थियो ट्रकलाई साईट दिने क्रममा दूर्घटना भयो, वस खसेपछि म विचैमा खसेछु, धन्न वाचिएछ,” स्नातक प्रथम वर्षमा पढ्न भनेर काठमाण्डौं हिँडेका गुल्मी भनभनेका घाईते शन्देस पन्थीले भने ।
मृतकहरु मध्य सवैको पोष्टमार्टम गरि उनीहरुका आफन्तहरुलाई शव जिम्मा लगाई सकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त जिल्ला प्रहरी प्रमुख जितेन्द्र कुमार वस्नेतले जानकारी दिनु भएको छ । तिव्र गतिमा रहेको उक्त वस ट्रकलाई ओभरटेक गरेलगत्तै सडकमा विपरीत दिशावाट आईरहेको मोटरसाईकललाई साईड दिने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । वस सडकवाट करिव ४ सय मिटर तल जंगलको खोँचमा खसेको थियो । घाईतेहरुको अहिले पाल्ल्पा स्थित मिसन अस्पताल र लुम्विनि मेडिकल कलेज प्रवासमा उपचार भैरहेको छ । घाईते मध्य ४जनाको अवस्था गंभिर रहेको वताईएको छ । मृतकका शवहरुलाई आजै गुल्मीको पवित्र तिर्थस्थल रिडीमा सामुहिक रुपमा दाहसंस्कार गरिएको छ ।
घटनापछि आज गुल्मी जिल्ला शोकमग्न वनेको छ । यसै घटनालाई लिएर आज गुल्मी उद्योग वाणिज्य संघद्वारा आज जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय तथा कलकारखाना वन्दको घोषणा गरेको छ ।

गुल्मीन्युज डटकम 
Read more...

Saturday, September 8, 2012

प्रेम प्रस्ताव: सपनाकी परीलाई

-प्रकाश थापा

परिक्षा नजिकिदै थियो, बाहिरबाट आउने आवाजले मेरो ध्यान विचलित होला भनेर सिसाको ढोका बन्द गरि एक चित्त भएर किताव पानातिर ध्यान दिँदै गएँ । रातको समय बिस्तारै बढ्दै थियो । कोलाहल वातावरण सुनसानमा परिणत हुदै थियो । बन्द सिसाको झ्यालमा पानीका थोपाहरुको दृश्य बन्दै थियो, यसै बिचमा झ्यालको ढोका थोरै खुल्ला गरेर विस्तरामा पल्टिन मन लाग्छ र म त्यसै गर्छु ।
जिन्दगी भनेको व्यक्तिको सिङ्गो स्वरुप हो जसलाई जसरी परिभाषा दियो त्यसरी नै परिभाषित हुन्छ । जिन्दगीलाई प्रेम र संघर्षको रुपमा पनि परिभाषित गर्न सकिन्छ । किनकि जिन्दगीलाई प्रेमले पनि पूर्ण रुपमा मोडिदिन्छ । जिन्दगी एक सागर हो जहाँ आएको आँधिले छालको उत्पति गरेझै, जिन्दगीमा पनि विभिन्न बाधा अवरोह आई जसले जिन्दगीलाई सोचाई भन्दा पर पुराएर हुत्याईदिन्छ । 
जिन्दगीलाई सफल र असफल पार्नमा प्रेमको आधीले जिन्दगीलाई उथलपुथल पारिदिन्छ । किनकि प्रेममा आसा हुन्छ जब प्रेम ढल्छ आशा मर्छ अनि बिलासाले बढवा पाई जिन्दगी तितरवितर हुन्छ । कसैको जिवन विना संघर्ष, विना कसरत अति शुन्दर भएर सजिएको हुन्छ भने कसैको संघयर्षका बाबजुत पनि फोहोरका टोकरीमा फ्याँकिएका । को चाहदैन जिन्दगीलाई सफल बनाउन, को चाहन्छ जिन्दगी वर्वाद बनाउन, तर जिन्दगी सोचेको बाटोमा नहिँडिदिदा  बहुसंख्यक जीवन वर्वाद बनेर फ्याँकिन बाध्य छन् । कति संघर्ष गर्ने जिन्दगीमा संघर्षको कुनै सिमा छैन । यस्तै भावना मनमा तरङ्गीत भइरहदा लगभग निद्रादेवीको काखमा पुग्न लागेको हुन्छु म । 
म तकिया मुनिबाट सुमधुर संगीतले ध्यान आकर्षित गर्छ , त्यो मोवाइमा बजेको संगीतलाई निरन्तरता दिन मन लाग्छ तर मेरो साथीले फोन भएकाले हतार हतार फोन रिसिभ गरेर कुरा गर्छ तर साथीसँग कुनै त्यस्तो विशेष कुरा हुदैन तर उसले कहिले काँही गर्ने फोनको कुरामा मेरो मन चञ्चल भइरहन्छ । एकैछिनमा कुरा बन्द गर्छु र एक गिलास पानी पिउछु । अनि सम्झन्छु अघी मनमा बगेका भावनाहरु र आफै माथि यस्तो प्रश्न स्थापित हुन्छकि आज म यो के सोचिरहेछु, मेरो मनमा किन आज यस्तो कुराहरु आईरहेछ ? र आफै शान्त हुँदै सोच्छु सायद मैले जिन्दगीको महत्व बुझ्न खोज्दैछु । 
जे भएपनि मलाई निद्रादेवीले सिरक ओढ्न आग्रह गरिरहेको अनुभवमा पर्छु र निद्रादेवीसँगको सामिप्यतामा बाँधिन पुग्छु । म निद्राको अचेतनामा पुगेको मलाई थाहै हुँदैन । तिमीलाई मैले के नै पो भन्न सक्छु । गर्न पो के सक्छु ? तर मैले तिमीलाई चाहन्छु भन्ने कुरा त तिमीलाई पहिले नै थाह छ, मैले माया गर्छु भन्ने थाहै छ किनकि तिमीसँग यस्तो सम्बन्धको कुरा नगरेपनी यस रुपमा भईसकेको छु यो तिमीले पनि बुझेकी छौ । 
 भनिन्छ नि "love does not keep a record of wrongs" तर मैले यसरी तिमीसँग "wrong record" बनाउन चाहेको छैन र तिमीलाई समय अनुसार नजिक हुने र कर्ममा भर पर्ने भविष्य भन्दा अघि बढेर कुनै बाचामा बाँधेर यात्रा गर्न चाहेको पनि हैन । अन्धा प्रेमीहरुले प्रेमीकाको हात समाएर म तिम्रो लागि जे पनि गर्न सक्छु भन्दै आश्वासन दिन्छन तर म तिमीलाई त्यसरी केहि भन्न र गर्न सक्दैन यद्यपी यो मेरो कमजोरी नै किन नबनोस् । तर म सक्छु यति मात्र कि तिमीलाई सदा सदा माया गर्न यदि तिम्रो साथ पाउछु भने । र तिमीलाई यो पनि सम्झनाहोस मेरो प्रेम तिमीले स्वीकार्नै पर्छ भनेर म भन्दिन यो तिम्रो नितान्त व्यक्तिगत कुरा हो । भन्न मन लाग्छ "दृष्टिमा गाँसिएकि, आखाँमा रुमलिएकि, मष्तिष्कमा छिपेकि, मुटुमा ढड्किएकि, भावनामा सल्वलाएकि, ह्दयमा झङ्कृत र हरेक पल सम्झनाका तरेलिमा तरङ्गित हुने मेरी प्रिय" तर मलाई यो अधिकार दिइसकेकि छैनौ । 
तिमीलाई देखेपछि म द्विवीधामा परेँ, नशा सुराको हुन्छकि कुराको ? भय छुराको हुन्छकी चुराको ? छुरा चुरामा हुन्छ कि कुरामा ? प्रकाश सृष्टिमा हुन्छकि दृष्टिमा ? माया मुटुमा हुन्छ कि भावनामा ? प्रेम हृदयमा हुन्छ कि मष्तिष्कबाट हुन्छ, कि आँखाबाट ? तिम्रो व्यक्तित्व आभास भन्दा अस्पष्ट र रहस्यपूर्ण विम्वबाट म समयको प्रवाहसँगै प्रभावित हुदै गइरहेको छु ? तिम्रो रहस्यमयताको गुल्थी सुल्झाउन सक्ने क्षमता तिमीभित्र पनि छैन होला । छ त ? 
तिमी आफ्नो कोमलता र बाध्य मृदुलताभित्र अत्यन्त हठ लिएर जिवन पथमा हिडिरहेकि छ्यौ । होइन त ? तिम्रो बाटो हिड्न सक्ने को ? तिम्रो बाटो मोड्न सक्ने को ? उत्तर तिमी आफै हो । तिम्रो बाटोमा सधै तिमी नै हुन्छ्यौ, होईन र ? त्यसैले त होला तिमी चुम्वकको समान ध्रुवझै मबाट विकर्षित हुन खोज्छ्यौ र स्वतन्त्र चुम्वक उत्तर दक्षिण र हेझैव उत्तर दक्षिण छेऊ । उत्तरको सगरमाथा अरुभन्दा अग्लै त छ होइन त ? तिमी निर्मलमा ठोकिएको प्रकाश किरण झै मबाट आवर्तित नै छौ होइन त ? हुन त म प्रेम यात्रा पार गरेको व्यक्ति त होईन तर पनि केहि चेतना मसँग छ त्यसैले त भन्छु जिवन समर्पणको लागी होइन यो त सार्थकताको लागी हो । 
आमाको कोखबाट जन्मिएर सुरु भएको मेरो जीवन म कसैलाई समर्पण गर्न सक्दिन तर म सधै यसलाई सार्थकतामा रुपान्तरण गर्न प्रयास गर्ने कुरामा चुक्न सक्दिन । यदि तिमीलाई मेरो प्रेमानुरोध स्वीकार्य छ भने म यसलाई सार्थक तुल्याउन लागि पर्ने कुरामा दुई मत छैन । तर हातमा मिलाएर अघि बढ्न तिमी पनि पछि पर्नु हुदैन् किनकि म एक्लै सफल हुन सक्दिन । र अर्को कुरा प्रेम "Successful & Sustainable with Satisfaction" हुन सकेन भने पक्कै पनि यसले सार्थकता पाउन सक्दैन होईन र ? 
मैले चाहेको प्रेमीका नपाएर भौतारिरहेका मान्छेहरुलाई प्रसस्तै भेटेको छु र उनिहरु बियोगका पिडा भन्दै नराम्रा काममा लागेको पनि देखेको पनि छु अझ वियोगका सङ्गीतहरुसँग तर सङ्गीत भएर सर्मपण भाव व्यक्त गरिरहेका मान्छेहरु पनि यहाँ धेरै छन् तर तिमीले मेरो यो प्रेम स्वीकार नगरेपनि मेरो जीवनमा कुनै असर पर्ने छैन किनकि मेरो जीवन कसैलाई समर्पण गरेर बाँच्न सक्दिन । मेरो जिन्दगीको पनि आफ्नै छुट्टै महत्व पक्कै छ । र जीवन असफल कुराको पछि डौडिरहदा अरु धेरै अवसर गुम्न सक्छन् भन्ने कुरा मैले राम्ररी बुझेको छु । तर तिमी मेरो सम्झनामा भने सधै हुनेछ्यौ । 
तिम्रो मौनतले मेरो प्रेम अस्विकार गरेको भाव बोकेको हो भने म तिमीलाई पनि यहि कुरामा प्रेरित गर्न चाहन्छु तर आफुलाई नै निचोरेर म तिम्रै ह्दयको द्वारसम्म आएर एउटा अलख जगाउन लागिरहेको छु । क्षितिजभरी स्वागतद्घारहरु खडा गरेको छु ह्दयभरी आशा जगाएको छु । तिम्रै लागी मुटु मष्तिष्क ह्दयमा संसार निमार्ण गरेको छु । त्यहाँ कुनै लज्जावती पनि लजाउनुपर्ने छैन किनकि त्यहाँ उष्णता छैन । त्यहाँ कुनै वम र वारुदको पड्काई छैन किनकि त्यो शान्ति क्षेत्र हो । त्यसैले मेरो निर्णयमा तिमी जस्तै भएपनि एउटा निर्णय देऊ जुन निर्णयबाट अलिकति माया साचु मुटुको लागि, अलिकति छायाँ साँचु शरिरका लागि र तिमी नहुँदाको विषादमा छलिएका सारा गोरेटाहरुलाई आफुमा जोडु र जीवनको एउटा मोड खोजुँ । 
ल हेर म त धेरै बोलेछु, तिमी किन नबोलेकि बोलन, मेरो कुरा तिमीलाई राम्रो लागेन हो । भोको पेटमा सुतिरहेको म सपनिको पर्दामा उनीलाई भेट्छु र उनीलाई प्रेम प्रस्ताव गर्ने कुरा मेरो दिमागमा धेरै पहिले देखी भएको हुँदा आज सपनिमा भएपनि पुरा गरेको अनुभव मलाई भयो ।
तर अन्त्यमा उनलाई केही बोल्न आग्रह गर्दा उनी टाढा गईन् र चर्को आवाजले उनलाई बोलाउदा पनि उनी क्षितिज पारी पुगिन् । उनी कता गईन भन्ने कुराले मलाई डर लागेछ क्यार । म उनको नाममा पुकारी रहेको अवस्थामा निद्राबाट झस्किएँ र आँखा खोलेँ । सुनसान वातावरणमा जस्तो आवाजको कल्पनामा गयो, त्यस्तै आवाज सुनेको भान मलाई भयो । रातको त्यो समयमा एक गिलास पानी पिएर पुनः म निद्रामा पर्न बाध्य भए किनकि मेरो निद्राको समय पुगेको थिएन । 
भोलीपल्ट विहानी मिर्मीरेसँगै मेरो आँखा खुल्छ र रातको त्यो सपनीलाई स्मरण गर्छु र विपनीमा पनि अब उनलाई चाडै भेटेर त्यही भन्ने लक्ष्य बनाएर दैनिक कार्यमा लाग्छु । थाहा छैन उनको प्रतिक्रियामा कस्तो हुने हो ? मेरो आर्दशको प्रेममा म सफल हुन्छु या हुँदिन मलाई थाह छैन । तर भन्न मन लाग्छ कोही पनि कसैको लागि मरिहत्य नारौँ अन्जानमा उसको/उनको लागी समर्पीत बन्न नखोजौँ किनकि एकतर्फी प्रेमको समर्पणमा घाटा सिवाय अरु केही छैन ।

जुभुङ, गुल्मी । 
Read more...

Friday, June 15, 2012

अनुपमा थापालाई हार्दिक बधाई


सर्वप्रथम त जुभुङ्ग दर्शनको तर्फबाट अनुपमा थापालाई हार्दिक बधाई तथा उच्च शिक्षामा पनि यस्तै सफलता मिलोस यहि सुभकामना |
भर्खरै मात्र एसएलसी परिक्षा २०६८ को नतिजा सार्बजनिक भएको छ जसमा छात्रा तर्फ बोर्ड प्रथम हुन् सफल भएकी छन स्थाइ घर जुभुङ्ग ३ कि अनुपमा थापा तर उनले काठमाडौँको स्कुलबाट पढेर उक्त स्थान हासिल गर्न सफल भएकी हुन् | यस बारे उनको अरु थप समाचार र फोटो साभार छ हरेकपल डटकम बाट जस्ताको तस्तै  :
हरेकपल संवाददता 
काठमाडौं , १ असार


यस वर्षको एसएलसी परिक्षामा छात्रा तर्फ काठमाडौकी अनुपमा थापा प्रथम भएकी छन् । कुल ८ सय पूर्णाङ्कको परीक्षामा भिएस निकेतनकी थापाले ७ सय ४३ अंक प्राप्त गरेकी छन् । गुल्मीको जुभुङ ३  स्थाइ घर भएका थापा हाल कोटेश्वर बस्दै आएकी छन् । 
सञ्चारमाध्यममा समीक्षा पाण्डे छात्रातर्फ प्रथम भएको भनेर आएपनि उनको ९२ प्रतिशत छ भने थापाले ९२.८७ प्रतिशत प्राप्त गरेकी छन् । भिएस निकेतनका प्रिन्सीपल बाबुराम पोखरेलले  छात्रातर्फ थापानै प्रथम भएको दाबी गरेका छन् । 
दैनिक ८ घण्टा पढ्ने थापाले विद्यालय जीवनमा ट्युसन पढेकी थिइनन । थापा भन्छिन मेहनतको फल मिठो हुदो रहेछ । परिक्षा दिदा ९० प्रतिशतमात्र आउछ भनेर अपैक्षा गरेकी थापाले छात्रा तर्फबाट नेपारभरिमै प्रथम भएको थापा पाउदा सुरुमात विश्वासै गर्न सकिनन । 
थापाकी दिदि अमृता थापाले रिजल्ट हेरेपनि थापा स्वयमलाई मार्कसिट नहेरेसम्म विश्वासै लागेको थिएन । राष्ट्रिय बाणिज्य बैकका जागीरे दिनेशविक्रम  थापाकी छोरी अनुपमा थापा सानैदेखि पढाईमात्र होइन बाहिरि क्रियाकलापमा पनि अम्बल दर्जाकी थिइन । 
उनले एक सय पूर्णाङको अंग्रेजीमा ९६, नेपालीमा ८५, गणितमा ९६, विज्ञानमा ९८, सामाजिक शिक्षामा ८५, स्वाथ्य जनसंख्या तथा वातावरणमा ९०, ऐच्छिक गणितमा ९९, ऐच्छिक कार्यलय व्यवस्थापन तथा लेखामा ९४ अंक प्राप्त गरेकी छन् । 
विराटनगर १५ स्थित वालकल्याण विद्यामन्दिर बीकेभीएम का छात्र अरुण कालिकोटलिे ९४.९ पैतिशत अर्थात ७ सय ५९ अङ्क प्राप्त गरेका छन् भने कोसी विद्यामन्दिरका अवेशजङग कार्कीले ९४.५ प्रतिशत अर्थात ७ सय ५९ अङक ल्याएका छन् । 
तिनवटै विद्यालयले आफना विद्यार्थी बोर्डमा सर्वाधिक अङक ल्याउनेमा प्रथम ,दोस्रो र तेस्रो भएको दावी गरेका छन् । कालिकोटीले अग्रेजीमा ९६, नेपालीमा ८५, अनिवार्य गणितमा ९९, विज्ञानमा ९१, सामाजिक शिक्षामा ९६, वातावरण जनसख्या तथा स्वास्थ्यमा ९८ तथा ऐच्छिक गणितमा ९८ र कम्प्युटरमा ९९ नम्बर प्राप्त गरेका छन् । 
विराटनगर ७ निवासी कालिकोटीले विद्यालय समयका अतिक्ति दैनिक १० घन्टाको रुटिन बनाएर अध्ययन गर्ने रहेको बताए । आफुले निकै ठुलो सफलता पाएको र त्यसलाई कायम गर्दै लैजाने चुनौती थपिएको पनि बताए । आफनो सफलताको पछाडि अभिभावक र विद्यालयको महत्वपूर्ण भुमिका रहेको कालिकोटीले बताए । बीकेभीएमका प्रधानाध्यापक रविन दाहालले विद्यालयले पैदान गरेको शिक्षालाई सहज रुपमा ग्रहण गरेकै कारण सफलता मिलेको प्रतिक्रिया दिएका छन् ।

तर २०६९/०३/०३ गतेको कान्तिपुर दैनिक मा यस्तो छापियो |


Read more...

Thursday, June 14, 2012

जुभुङ्गको एसएलसी नतिजा २०६८

सर्बप्रथम २०६८ सालमा  सञ्चालित एसएलसी परीक्षामा श्री सुर्योदय उच्च मा. वि र श्री काब्रेपोखरी मा. वि. बाट सामेल भई उत्तीर्ण हुन सफल  सम्पूर्ण भाइबहिनीहरुलाई जुभुंग दर्शनको तर्फबाट हार्दिक बधाई तथा उच्च शिक्षामा पनि राम्रो सफलता मिलोस यहि कामना |
उक्त परीक्षामा श्री सुर्योदय उच्च मा. वि. बाट सामेल जम्मा ७२  मध्ये १८   जना पास हुन सफल भएका छन् | जस मध्ये   ८  जनाले प्रथम श्रेणी र १०  जनाले दृतिय श्रेणी प्राप्त  गरेका छन् |साथै एक्जाम्टेड तर्फ ४  जना पास भएका छन् |३२ जना पुरक परिक्षा मा परेका छन् ।
त्यस्तै गरि श्री काब्रेपोखरी  मा. वि. बाट सामेल जम्मा १९  मध्ये १० जना पास भएका छन् | जस मध्ये ८  जनाले प्रथम श्रेणी र २ जनाले दृतिय श्रेणी प्राप्त  गरेका छन्|अनि  एक्जाम्टेड तर्फ २   जना पास भएका छन् |
र ६ जना पुरक परीक्षामा परेका छन् |
यस परीक्षामा अनुतिर्ण हुने सबैलाइ सान्तोना दिदै  मेहनत गर्न आग्रह छ |

Read more...