Monday, March 26, 2012

खानेपानी योजनामा लापरवाही भएको खुलासा

गुल्मीको जुभुङ्ग खानेपानी योजनामा अनियमितता र लापरवाही भएको एक संस्थाको अनुगमनले देखाएको छ। स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा एकिकृत ग्रामिण विकास समाज गुल्मीले हालै गरेको अनुगमनले उक्त खानेपानी योजनामा अनियमितता भएको देखाएको हो।

जिल्ला विकास समितिबाट परेको ९ लाख रुपयाँमा सो योजना सुरु गरिएको थियो। गत असार मसान्तभित्रै सम्पन्न भईसक्नुपर्ने योजना हालसंम पुरा नभएपनि असार मसान्त अघिनै कागजमा सम्पन्न गराई रकम निकासी गरि सकिएको समितिका अध्यक्ष ज्ञानबहादुर खड्काले बताउनुभयो। उपभोक्ताहरुले गर्नुपर्ने काम समयमा नगरेको र जनशक्तिको अभावले ढिलाई हुन गएको निर्माण ब्यावसायी कुलबहादुर टण्डनको भनाई छ। एकिकृत ग्रामिण विकास समाज गुल्मीले अनुगमन सुरु गरेपछि हतार–हतार धारा निर्माण गर्न सुरु गरिएको उपभोक्ता बिस्णु घर्तीले बताउनुभएको छ।

सो संस्थाले अनुगमनसंगै स्थानीय विकास निर्माणमा जनचासो सम्बन्धी प्रशिक्षण दिएपछि उपभोक्ताहरु जागरुप भई निर्माण ब्यावसायीलाई ताकेता गर्न थालेको कार्यक्रम संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो। लापरवाही भएको गुनासो आएपछि आफ्नो संस्थाले सो गाविसमा पुगी सार्वजनिक सुनुवाई कार्यक्रम राख्दा अनियमितताकोे पुष्टी भएको समाजका सदस्य ओम कार्कीले बताउनुभयो।

गुल्मीन्युजबाट साभार गरिएको।